दूरसञ्चार सेवामा एक महिनामा मोबाइल प्रयोगकर्ता करिब २ लाख ४३ हजार थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तमा निकालेको एमआईएस प्रतिवेदनअनुसार गत असार महिनासम्म २ करोड ६४ लाख २० हजार ६ सय ४५ का हातमा मोबाइल थिए । साउनको अन्तिमसम्म आइपुग्दा यो संख्या बढेर २ करोड ६६ लाख ६३ हजार ६ सय ५ पुगेको छ । तथ्यांकअनुसार अब दूरसञ्चार सेवामा मोबाइल प्रत्येक नेपालीको हातमा छ । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार १ सय ६० प्रतिशतभन्दा बढी घनत्व हुँदा त्यसलाई ९० प्रतिशत मानिन्छ । प्रतिवेदनमा उल्लेख तथ्यांकअनुसार दूरसञ्चार सेवामा ९४ प्रतिशत बजार मोबाइलको हिस्सामा छ ।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले बजारमा बिक्री गरेको सिमका आधारमा दूरसञ्चार सेवाको पहुँच कति पुग्यो, प्रतिवेदनमा देखाउँछ । त्यस्तै ल्यान्डलाइन ग्राहकको संख्या ७ सयले वृद्धि भएको छ । असारसम्म ८ लाख ४५ हजार ग्राहक रहेकामा साउनमा ८ लाख ४५ हजार ७ सय नाघेको छ ।
जनसंख्याका आधारमा अहिले मात्र ३ दशमलव १९ प्रतिशतले ल्यान्डलाइन सेवा प्रयोग गरिरहेका छन् । दूरसञ्चार सेवाअन्र्तगत सेवा लिने ग्राहक वृद्धिमा नेपाल टेलिकमले एक वर्ष (२०७१ भदौ देखि २०७२ साउनसम्म) मा १७ लाख ३७ हजार ९ सय ५७ (मोबाइल र ल्यान्डलाइन गरी) थप ग्राहक पाएको छ । त्यस्तै एनसेलका ग्राहक संख्या ९ लाख ७४ हजार ४ सयले बढेका छन् । नेपाल स्याटेलाइटको सेवा लिनेहरू २ लाख १६ हजार ४ सय ६३ ले वृद्धि भएको प्रतिवेदनमा छ ।
गुणस्तर र सेवा क्षेत्रलाई विस्तार गर्न नसक्दा ग्राहकको विश्वास गुमेको प्राधिकरणले जनाएको छ । त्यस्तै, इन्टरनेट डाटा घनत्व ४४ दशमलव ११ प्रतिशत पुगेको छ । प्रतिवेदनअनुसार २०७१ को भदौमा इन्टरनेट पहुँच (जनसंख्याका आधारमा) ३४ प्रतिशत थियो । एक वर्ष (भदौ २०१७ देखि साउन २०७२ सम्म) मा इन्टरनेट चलाउनेहरू १० दशमलव ११ प्रतिशत बढेको प्रतिवेदनले देखाएको छ ।
इन्टरनेटका लागि सेवा प्रदायकले डायलअप, वायरलेस अप्टिकल मोडेम, केबल मोडेम, एडीएसएल, भिस्याटमा आधारित इन्टरनेट सेवासमेत दिने भएपछि ठूलो हिस्सा जीपीआरएस/ईडीजीई र सीडीएमएको प्रयोगकर्ता सबैभन्दा बढी छन् । मुख्य ६ दूरसञ्चार सेवा प्रदायकबाहेक प्राधिकरणले इन्टरनेट सेवा प्रदान गर्नका लागि २३ कम्पनीलाई अनुमति दिएको छ ।
स्रोत: कान्तिपुर दैनिक, मंसिर १, २०७२